यो चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह होः केपी ओली
७ फागुन, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको बताउनुभएकाे छ ।
बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ को चुनावलाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो। यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो।’
साथै, उहाँले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएकोले विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘हामीले बुझ्नुपर्छ– ठुला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन– भत्काउनका लागि दुर्घटना गराइएको हो। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्रनिरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको हो।’
प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १४:११










