माधव नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेकपाका नेताकाे भेनेजुएला भ्रमण स्थगित
२६ माघ, काठमाडौँ । माधव नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेकपाका नेताहरुकाे भेनेजुएला भ्रमण स्थगित भएकाे छ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता एउटा सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए। भेनेजुएलाको सन्दर्भलाई लिएर अमेरिकासँग सम्बन्ध चिसिएको तथा सरकार र पार्टीबीच विवाद देखापरेपछि त्यहाँ जाने उनीहरूको कार्यक्रम स्थगित भएको छ।
नेकपाका सांसद बलराम बाँस्कोटाले केही दिन पहिले नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई भेनेजुयला जानका लागि निम्तो बाँडेका थिए आवश्यक भिसा र टिकटको पनि प्रबन्ध भइसकेको थियो। बाँस्कोटा प्रचण्डलाई निकोलस मदुरोको पक्षमा वक्तव्य जारी गर्न लगाएका भनेर चर्चामा आएका थिए।

बाँस्कोटाले सम्मेलन २२ देखि २७ फेब्रुअरीसम्म हुने कार्यक्रम तय भएको तर परिस्थितिजन्य कारणले अहिले स्थगित भएको बताएका छन । सम्मेलनमा नेकपा र जनमोर्चाका २५ जना जाने तयारी थियाे ।
सम्मेलनमा जानका लागि निम्तो पाएका राष्ट्रिय जनमोर्चाको किसान सङ्गठनका अध्यक्ष भैरव रेग्मीले भने कार्यक्रममा जानका लागि तयारीमै लागिरहेको बताएका छन । उनले भने `सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउनका लागि जान लागेका हौं।´ उनीसँगै उनको पार्टीका प्रदेशसभा सदस्य तारा जिसी जाने कार्यक्रम रहेको उनले बताएका थिए। बीबीसी नेपाली सेवाकाे समाचारमा आधारित समाचार ।
प्रकाशित मिति : २६ माघ २०७५, शनिबार ०८:४५












