७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छः प्रधानमन्त्री कार्की

७ फागुन, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनुहुँदैन । अब त खासमा यो एउटा जीवनशैली हो । यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनुपर्छ भन्नुभयो । “विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो”, उहाँले भन्नुभयो ।

वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै प्रधानमन्त्रीले सुशासन, पारदर्शीता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास अभिमुख भइरहेको स्पष्ट पार्नुभयो ।

प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् भन्दै प्रधानमन्त्रीले राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्नेमा जोड दिनुभयो । “हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो । ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरु खाली हुनुको प्रमुख कारण पनि यही नै हो”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार ११:४१