१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

नासा सेक्यूरिटीजले २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा दिने

६ फागुन, काठमाडौँ। नासा सेक्यूरिटीजले लगानीकर्ताहरूका लागि २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ बमोजिम कम्पनीले यो सेवा सुरु गरेको हो।

यस सुविधा अन्तर्गत लगानीकर्ताले शेयर ब्रोकरबाटै ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्। कम्पनीले विभिन्न प्रकारका ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै १० लाख रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू सार्वजनिक गरेको छ।

यस सुविधा अन्तर्गत लगानीकर्ताले कुल खरिद रकमको ३० प्रतिशत प्रारम्भिक मार्जिन राखेर बाँकी ७० प्रतिशतसम्मको ऋण सुविधा नासा सेक्यूरिटीजबाटै प्राप्त गर्न सक्नेछन्।

१ महिनादेखि ३ महिनासम्मको अवधि रहने यस कर्जा योजनामा १० लाख रुपैयाँको ऋण लिँदा अवधिअनुसार ७ हजार देखि १९ हजार ९५० रुपैयाँसम्म ब्याज र सेवा शुल्क लाग्ने कम्पनीले जनाएको छ।

यो सुविधा लिन इच्छुक ग्राहकले नासा सेक्यूरिटीजमै मार्जिन डिम्याट र मार्जिन ट्रेडिङ खाता खोली नेपाल धितोपत्र बोर्डद्वारा मार्जिन ट्रेडिङका लागि तोकिएका सूचीकृत योग्य कम्पनीहरूको शेयरमा मात्र यो सुविधा प्रयोग गर्न पाउनेछन्।

प्रकाशित मिति : February 18, 2026 at 2:46 pm