६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

६ फागुन, नयाँदिल्ली । कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको सङ्गमको प्रतीक बनेको छ । उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार पारेको थियो ।

तेइस वर्षीय सिद्धार्थ सोनीले सन् २०२३ मा सह–स्थापना गर्नुभएको आइडिया ज्वेलरीमार्फत एआई–डिजाइन गरिएका गहनाहरू उत्पादन गर्दै आउनुभएको छ । उहाँले एएफपीसँग भन्नुभयो, “परम्परागत तरिकाले यस्ता गहनाहरू बनाउन छ–सात महिना लाग्ने गथ्र्यो, तर एआईद्वारा तयार ब्लुप्रिन्ट र थ्रीडी–प्रिन्टेड मोल्ड प्रयोग गर्दा एक हप्तामै तयार गर्न सकिन्छ, हलमार्किङका लागि केही थप समय आवश्यक पर्छ ।”

सोनीको यो स्टार्टअप हैदराबादस्थित दशकौँ पुरानो पारिवारिक व्यवसायबाट विकसित भएको हो । उहाँका बुबा र हजुरबुबा करिब ३० वर्षदेखि गहना उद्योगमा सक्रिय हुनुहुन्छ । नयाँ प्रविधिप्रति उत्साह देखाउँदै उहाँका बुबाले यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने इच्छा व्यक्त गर्नुभएको छ, ताकि संयुक्त राज्य अमेरिका लगायतका मुलुकका खुद्रा विक्रेताहरूले कस्टम एआई–डिजाइन गरिएका भारतीय गहनाहरू बिक्री गर्न सकून् । तर अनुभवी कारिगरहरू भने एआईले कलात्मक मौलिकता हराउने चिन्तामा छन् । “हामीले कलाको रूप गुमाउँदैछौँ”, सोनीले भन्नुभयो, “तर समयसँगै अगाडि बढ्नु अनिवार्य छ ।”

एआई शिखर सम्मेलनमा सहभागी टेक उद्यमी र विश्व नेताहरूले अवसरसँगै जोखिमबारे पनि छलफल गरेका छन् । सामूहिक रोजगारी कटौती र मानव विशेषज्ञताको क्षय प्रमुख चिन्ताका विषय बनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनले देशका युवाहरूको क्षमता उजागर गरेको बताउँदै प्रविधिमा द्रुत प्रगतिलाई जोड दिनुभएको छ । भारत सरकारले आगामी दुई वर्षभित्र एआई क्षेत्रमा दुई खर्ब डलर लगानी गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत डाटा सेन्टर र ऊर्जा पूर्वाधार विस्तार गर्ने योजना छ ।

आइडिया ज्वेलरीले सरकारी अनुदान नपाए पनि प्रमुख सहरका २० खुद्रा विक्रेतासँग सहकार्यको तयारी गरिरहेको जनाएको छ । गुगलको जेमिनीको परिमार्जित संस्करणमा आधारित उपकरणमार्फत ग्राहकहरूले धातु, बहुमूल्य पत्थर र मूल्य दायरा छनोट गरी साधारण पाठ निर्देशनबाट डिजाइन माग गर्न सक्छन् । सो उपकरणले नमूना देखाएपछि विस्तृत थ्रीडी मोडेल उत्पादन गर्छ, जसलाई कारिगरहरूले मूर्त रूप दिन्छन् । केही कामदारहरूले आफ्नो रोजगारी गुम्ने डरले असहज भए पनि हालसम्म एआई–डिजाइन गरिएका गहनाहरू निर्माण गरिरहेका छन् ।

एआईको प्रभाव गहना उद्योगमा मात्र सीमित छैन । एक्सट्रीम जेन एआई नामक स्टार्टअपले दर्जनौँ स्थानीय भाषामा व्यवसायका लागि आवाज–आधारित च्याट उपकरण विकास गरेको छ । संस्थापक पिस बेरीका अनुसार प्रविधि सस्तो र परिष्कृत बन्दै जाँदा विशाल कल सेन्टर उद्योग प्रभावित हुन सक्छ, तर नयाँ रोजगारी र सीपका क्षेत्र पनि खुल्नेछन् ।

त्यस्तै, सोइल डाक्टरले १० राज्यका ५०० खेतमा एआई–आधारित माटो परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । चिफ अफ स्टाफ वर्तिका गुप्ताले ऐतिहासिक कृषि डाटामा पहुँच पाए किसानलाई लक्षित मल प्रयोगमार्फत लागत घटाई उत्पादन बढाउन सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार, प्रत्येक सिजनमा कम खर्चमा किसानहरूले बढी उत्पादन गर्न सक्नेछन् ।

परम्परागत सीप र आधुनिक प्रविधिबीच सन्तुलन खोज्दै भारतका स्टार्टअपहरूले एआईलाई अवसरका रूपमा अँगालिरहेका छन्, यद्यपि रोजगारी र मौलिकताको प्रश्न अझै बहसकै विषय बनेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १२:१७