३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा

३ फागुन, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ ।सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।”

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उहाँले अब आनाकानी गर्ने छुट नभएको बताउनुभयो । सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताउनुभयो । सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उहाँले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १७:४२