मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन्ः केपी शर्मा ओली
३ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको नयाँ परिभाषा दिनुभएको छ । आइतबार महाशिवरात्रि पर्वको अवसरमा शुभकामना दिँदै पशुपतिका बारेमा नयाँ परिभाषा दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाश(बन्धन)हरूबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन् ।’
यस्तो छ उहाँको पूरा टिप्पणी
आज महाशिवरात्रि ।
यो पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो। ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाश(बन्धन)हरूबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन् ।ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन् । बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित छ। आजको यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस्। जय राष्ट्रदेव, महादेव भगवान पशुपतिनाथ ! हर हर महादेव! 🔱 शुभ महाशिवरात्रि !

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार ०८:५८










