संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन
१ फागुन, ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन गर्नुभएको छ । आज पाथीभराको दर्शन गरेर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ ।
आज ताप्लेजुङ आउनुभएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा परामर्श गर्नुभएको हो । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिनुभएको छ । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन कार्कीले निर्देशन दिनुभयो ।
उहाँले संवेदनशीलसँगै सम्भावित हुलदङ्गा हुने मतदानस्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको छ । परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराउनुभएको बुझिएको छ ।
प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गर्नुभएको छ । बिहान ८ बजे ताप्लेजुङ आइपुग्नुभएका प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गर्नुभएको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गर्नुभएको हो ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १७:३८










