वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२९ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज
नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन् ।
पक्राउ मध्ये जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट, ठमराजलाई काठमाडौं महानगरपालिका-१२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १६:४४








