नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
२८ माघ, बेइजिङ । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।
सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट करिब दुई हजार किलोमिटर टाढा निर्माण क्षेत्रमा काम गर्नुहुन्छ । उहाँ घर फर्किन ३० घण्टाभन्दा लामो रेल यात्रा गर्न तयारीमा हुनुहुन्छ । उच्च गतिको रेलले नौ घण्टामै पुगिए पनि खर्च दोब्बरभन्दा बढी लाग्ने भएकाले उहाँले सस्तो ढिलो रेल रोज्नुभएको हो । अर्थतन्त्र कमजोर हुँदा कमाइ कठिन भएको उहाँको भनाइ छ ।
चीनमा ‘चुन्युन’ नामले चिनिने यो यात्रा अवधिमा करोडौँ कामदारहरू आफ्ना परिवारसँग चाड मनाउन गृहनगर फर्किन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब ५४ करोड रेलमार्फत् र ९५ करोड हवाई यात्राहरू हुने अपेक्षा गरिएको छ । बाँकी यात्राहरू सडकमार्फत् गरिनेछन् ।
लामो कार्यसमय र सीमित वार्षिक बिदाका बीच चन्द्र नयाँ वर्ष धेरैका लागि अमूल्य अवसर हो । बेइजिङका रेल स्टेसनहरूमा यात्रुहरू ठूला झोला र सुटकेससहित रेलको प्रतीक्षामा देखिएका छन् । कतिपय यात्रुहरूले स्टेशनमा उपलब्ध निःशुल्क तातो पानी प्रयोग गरेर ‘इन्स्ट्यान्ट नूडल्स’ खाएर समय बिताइरहेका छन् ।
बेइजिङमा हालै पूर्णकालिक काम सुरु गर्नुभएकी टियान डुओफूले फेब्रुअरी १५ देखि सुरु हुने नौ दिने बिदाको प्रतीक्षा गरिरहनुभएको बताउनुभयो । काम सुरु गरेपछि लामो बिदा दुर्लभ भएको र परिवारसँग भेटघाट कम हुँदै गएको महसुस भएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार वसन्त महोत्सव परिवारसँग पुनर्मिलनको महत्त्वपूर्ण समय हो ।
हेनान प्रान्त घर भई बेइजिङमा बिहानको खाजा स्टल सञ्चालन गर्दै आउनुभएकी टियान युन्सियाले पनि नयाँ वर्ष परिवारसँगै मनाउन घर जान चाहेको बताउनुभएको छ । उहाँका अनुसार घर फर्कन नसके चाडपर्वको वास्तविक अनुभूति गर्न नसकिने हुन्छ ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १५:३८








