क्यानडाको विद्यालय र घरमा गोली चल्दा १० जनाको मृत्यु
२८ माघ, टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो ।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोटपटक लागेको छ ।
क्यानाडाली सञ्चारमाध्यमहरूले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ ।
प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीहरूले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
यसैबीच प्रहरीले टम्बलर रिजस्थित एक निवासबाट थप दुई जनाको शव फेला पारेको जनाएको छ । उक्त घर घटनासँग जोडिएको विश्वास गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्यालय परिसरभित्र गोली चलाउने व्यक्तिको रूपमा आशङ्का गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।
टम्बलर रिज नगरपालिकाले जारी गरेको वक्तव्यमा समुदायले भोगिरहेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरिएको छ ।घटनाका बेला विद्यालयमा रहेका विद्यार्थी डेरियन क्विस्टले सार्वजनिक प्रसारक सिबिसीलाई आफू मेकानिक्स कक्षामा रहेका बेला विद्यालय सुरक्षात्मक बन्द अवस्थाको घोषणा भएको बताउनुभएको छ । सुरुमा आफूले सामान्य सावधानी ठाने पनि केही समयपछि विद्यालयभित्रको घटनाका तस्बिरहरू प्राप्त हुन थालेपछि स्थिति गम्भीर रहेको महसुस भएको उहाँले उल्लेख गर्नुभयो । त्यसपछि वास्तविकता स्पष्ट भएको उहाँले बताउनुभयो ।
उहाँले करिब दुई घण्टाभन्दा बढी समय सुरक्षात्मक बन्द अवस्थामा बस्नुपरेको र त्यसपछि प्रहरी विद्यालयभित्र प्रवेश गरी सबैलाई हात माथि उठाएर बाहिर निस्कन निर्देशन दिएको जानकारी दिनुभयो ।
डेरियनकी आमा शेली क्विस्टले पनि सिबिसीसँग कुरा गर्दै स्थल सुरक्षित घोषणा भएपछि छोरोसँग भेट हुँदा अँगालो हालेर समातेको बताउनुभएको छ । अब केही समय उहाँलाई आफ्नो नजरबाट टाढा जान नदिने उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले हिंसाका यस्ता भयानक कार्यमा आफ्ना प्रियजन गुमाउने परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले पनि घटनालाई अकल्पनीय हिंसा भन्दै निन्दा गर्नुभएको छ । सङ्घीय विपक्षी नेता पियरे पोइलिभ्रेले यसलाई हिंसाको मूर्खतापूर्ण कार्यको संज्ञा दिनुभएको छ ।
क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड विरलै हुने गर्दछन् । तर गत अप्रिलमा भ्यानकुभरमा फिलिपिन्सको सांस्कृतिक उत्सवलाई लक्षित गरी गरिएको गाडी आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।
आरसिएमपीका उत्तरी जिल्ला कमान्डर केन फ्लोइडले घटनालाई द्रुत रूपमा विकसित र अत्यन्त जटिल अवस्था भएको बताउनुभएको छ । उहाँले यो दिन समुदायका लागि अत्यन्त गाह्रो र भावनात्मक रहेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउन देखाएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित थप स्थानहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समुदायका अन्य घर तथा सम्पत्तिको पनि खोजी गरिरहेको जनाएको छ ।
करिब दुई हजार ४०० जनसङ्ख्या रहेको शान्त सहर टम्बलर रिज, ब्रिटिस कोलम्बियाको सबैभन्दा ठुलो सहर भ्यानकुभरबाट एक हजार १०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । नगरपालिकाले ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस त्रासदीले परिवार, विद्यार्थी, कर्मचारी र सम्पूर्ण समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरेको छ । समुदाय अहिले शोक र स्तब्धताको अवस्थामा रहेको जनाइएको छ ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १३:३६








