८५.१७ प्रतिशतले घट्यो एनएलजी इन्स्योरेन्सको नाफा
२८ माघ, काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.१७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म कम्पनीले ४५ करोड १९ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी ७८ करोड २३ लाख रहेको छ । यो अवधिमा कम्पनीको कुल खर्च ५६ करोड ५ लाखबाट बढेर ७६ करोड ६६ लाख पुगेको छ । यस्तै कम्पनीको बीमा दाबी भुक्तानी ३१ करोड ३८ लाखबाट बढेर ४९ करोड ३९ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९०.५८ गुणा कायम भएको छ ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १२:४१













