२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

एडिलेडमा आगामी आइतवार हुने शिवरात्रीको भव्य तयारी

एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा फ्रेब्रुअरी १५ आइतवार शिव रात्रीको उपलक्ष्यमा बिगत बर्षहरुमा झै भजन कीर्तन सहितको पुजा आराधना कार्यक्रम हुने भएको छ ।

स्थानिय कोसग्रोभ हल, क्लोभेली पार्कमा कार्यक्रम आयोजना हुने भएको छ । दिनको २ बजेबाट पुजा शुरु हुने छ भने साझ भजन किर्तन हुने र साझ १० बजे कार्यक्रम समापन हुने नेपाली भजन कीर्तन समुहका अध्यक्ष डा.दया पराजुलीले बताउनु भयो ।

२०१८ देखि एडिलेडमा हुदै आएको शिव रात्री विशेष कार्यक्रममा गत बर्षबाट साउथ अष्ट्रेलिया सरकारले समेत सहयोग प्रदान गर्न शुरु गरेको छ ।  चन्दादाताहरुको सहयोगबाट हुदै आएको कार्यक्रममा यस बर्ष पनि हलुवा, तरकारी, अचार प्रसादको रुपमा वितरण गरिने समुहका उपाध्यक्ष शिव काफ्लेले बताउनु भयो ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । हिन्दुहरुको प्रमुख पर्व हो महाशिवरात्रि भगवान शिव उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका हो । जसको पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको प्यारो दिनका रूपमा लिइने गरिन्छ ।

नेपालमा व्रतहरु मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन रहेको छ । शिव रात्रिमा वर्त बसी ” ऊँ नमः शिवाय” मंत्र जप गरि सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार ०४:४४