नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छः संयोजक प्रचण्ड
२६ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताउनुभएको छ ।
नेकपा काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताउनुभयो ।
“नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरु जोडिएका छन्”, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले नेकपाले सुरुदेखि नै निर्वाचन भनेको र अहिले सिँगो देश निर्वाचनमा होमिएको बताउनुभयो । नेकपा दिनदिनै बलियो हुँदै गएको उहाँको भनाइ छ । उहाँले नेकपा जनताको भरोसाको केन्द्र हुँदै गएको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम हुन लागेको बताउनुभयो । देशैभर नेकपामा जनलहर छाउँदै गएको उहाँको भनाइ थियो । नेकपाले अगाडि सारेको नीतिको पक्षमा जनतामा आशा र भरोसा थपिंदै गएको दाहालले बताउनुभयो ।
नेकपा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशामा अगाडि बढेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन नेकपाको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेकपा काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमाल शर्माले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेकपा नयाँ चुनाव चिह्नका साथ अगाडि बढेको भन्दै आगामी निर्वाचनमा नेकपालाई जीताउन आग्रह गर्नुभयो । कार्यक्रममा वरिष्ठ खेलाडी रेनुका श्रेष्ठसहित दर्जनौँ व्यक्ति एमाले छाडेर नेकपा प्रवेश गर्नुभएको थियो ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार ११:५३








