विदेश पठाइदिन्छु भनेर ठगेको आरोपमा धादिङका हिरासहित २ जना पक्राउ
२३ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनेबास घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ६ बस्ने हिरा तामाङ र काभ्रेको पाँचखाल नगरपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने रुपेश लामिछाने रहेका छन् ।
रुपेशले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनाबाट ९ लाख रुपैयाँ ठगेको पाइएको प्रहरीले जनाएको छ । यसैगरी हिराले स्लोभाकिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरेर विदेश नपठाइ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब पाउने गरी बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भएका भन्दै पीडितहरुले उजुरी दिएका थिए । सोही उजुरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १२:००








