बैतडी दुर्घटनाका घाइतेको उपचारको प्रबन्ध गर्न सरकारसँग कांग्रेसको माग
२३ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभयो ।
उहाँले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
बिहीबार जन्ती बोकेको बस दुर्घटना भएको थियो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ११:४७








