बैतडीमा जन्ती बोकेको बस भीरबाट खस्दा १३ को मृत्यु ३० जना घाइते
२३ माघ, काठमाडौँ । बैतडीमा मध्यराति जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन । बझाङबाट पत्रकार सत्यराज सिंहले दिएको जानकारी अनुसार बैतडीको पुर्चौडी नगरपालिका वडा–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी-७ कै बडगाउँ घुम्तीमा दुर्घटनामा परेको हो ।
सिंहका अनुसार सुपप्र ०२-००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस दुर्घटनामा परेको हो । घटनास्थल र अस्पताल लैजाँदैगर्दा र उपचारको क्रममा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले पनि दुर्घटनाको पुष्टि गर्दै मृतक मध्ये ८ जनाको सनाखत भएको जानकारी दिनुभएको छ । सनाखत गरिएका मध्ये सात पुरूष र एक महिला रहेका छन ।
मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका-७ का ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी रहनुभएको छ ।
त्यस्तै जयपृथ्बी नगरपालिका-७ का ४० वर्षीय बसन्तराज रतला, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र बैतडी पुर्चौडी-७ का ४० वर्षीया पुष्पा अवस्थी रहेनुभएको छ । दुर्घटनामा घाइते भएका मध्ये २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भैरहेको छ । ३ जनालाइ थप उपचारका लागि धनगढी पठाइएको छ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ०६:००








