रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा रौतहटमा ४ वर्षीय बालिकाको मृत्यु
२२ माघ, काठमाडौँ। रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

बस्यालका अनुसार बाटोमा खेलिरहेका बेला उक्त गाडीले बालिकालाई ठक्कर दिएको थियो । उपचारको क्रममा बालिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको थियो । तर गाडीमा उम्मेदवार भने सवार थिएनन् ।
ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता बस्यालले बताउनुभयो ।
प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १६:५७







