२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

देशको झण्डा ओढ्ने धेरै देखेँ, तर राष्ट्रप्रेम देखिनः ज्योति मगर

२२ माघ, काठमाडौँ । गायिका ज्योति मगरले देशको झण्डा ओढ्ने धेरै देखे पनि राष्ट्रप्रेम नदेखेकोमा दुख व्यक्त गर्नुभएको छ ।

गायिका मगरले बिहिबार सामाजिक सञ्जाल फेसबुकमामार्फत पछिल्लो राजनीतिक अवस्था, आन्दोलन र चुनावी गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

मगरले स्टाटसमा लेख्नुभएको छ, “नेपालको झण्डा ओढेर राजनीति गरेको देखेँ, नेपालको झण्डा ओढेर देश छोड्दै गरेको देखेँ, नेपालको झण्डा ओढेर नागरिकता त्यागेको देखेँ।”

मगरले झण्डा ओढेर देशलाई गाली गर्ने, ‘देश खतम भइसकेको’ भन्ने र विदेशीलाई देश सुम्पिए विकास हुन्छ भन्ने अभिव्यक्ति पनि देखेको उल्लेख गर्नुभएको छ। “देशको झण्डा ओढेर देश नै खतम छ भन्दै देशलाई गाली गरेको देखेँ, एक पटक देश विदेशीलाइ दियो भने भारतमा ब्रिटिसले विकास गरेजस्तै विकास गर्दिन्छन् भनेको पनि देखेँ,” उहाँले स्टाटसमा लेख्नुभएको छ ।

गायिका मगरले सबैभन्दा पीडादायी अनुभवका रूपमा नेपाल जलिरहेको अवस्थामा झण्डा ओढेर खुसियाली मनाएको दृश्य उल्लेख गर्नुभएको छ। “सबैभन्दा दर्द त त्यति बेला भयो जब नेपालको झण्डा ओढेर नेपाल जलाएको देखेँ, देशको झण्डा ओढेर नेपाल जलेको खुसियालीमा भिक्ट्री पोजमा फोटो खिचेको देखेँ,” उहाँको स्टाटसमा उल्लेख छ।

पछिल्ला दिनमा देखिएका ‘राष्ट्रवादी’ गतिविधिप्रति प्रश्न उठाउँदै मगले लेख्नुभएको छ, “यति धेरै झण्डा ओढ्ने राष्ट्रवादी देखेँ तर राष्ट्रियता मात्रै देखिन, राष्ट्रप्रेम मात्रै देखिन,”।

झण्डा ओढेर राष्ट्रलाई कमजोर बनाइँदै गएको अवस्था आफूले लाचार भएर हेर्नुपरेको उल्लेख गर्दै गायिका मगरले लेख्नुभएको छ, “मुखौटा ओढेका राष्ट्रवादीहरूले राष्ट्रको झण्डा ओढेर राष्ट्र खोक्रो बनाउँदै गरेको लाचारपूर्वक टुलु–टुलु हेर्नु मेरो आजभोलिको दिनचर्या हो,”।

आन्दोलन र चुनावको सन्दर्भ उल्लेख गर्दै मगरले लेखनुभएको छ, “यसपालीको आन्दोलन र चुनाव कोले जित्छ थाहा छैन, तर देशले हार्छ त्यो ग्यारेन्टी हो।”

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १५:३५