ग्यास माग भन्दा बढी आपूर्ति भइरहेकाे छ, अनावश्यक स्टक नगर्नुस्ः आयल निगम
२१ माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिनुभएकाे हाे ।
भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेको छ । गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको उहाँले बताउनुभयाे । त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ भएको उहाँको भनाइ छ ।
लोडिङ भएका यी बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको जानकारी दिँदै उहाँले आगामी चुनाव अवधिभरि पनि यसैगरी नियमित ग्यास आपूर्ति भइरहने बताउनुभयाे ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १४:३३







