पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौंः रवि लामिछाने
२० माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताउनुभएकाे छ । सामाजिक सञ्जालमार्फत लामिछानेले यस्ताे बताउनुभएकाे हाे ।
देश अन्तिम सुनामीको तयारीमा रहेको बताउँदै लामिछानेले यसलाई रोकेर देखाउन पूराना दलहरूलाई चेतावनी समेत दिनुभएकाे छ ।लामिछानेले फेसबुकमा लेख्नुभएकाे छ, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं।’
उहाँले आगामी फागुन २१ गतेलाई सामान्य मिति नभएको पनि बताउनुभएकाे छ । ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ,’ लामिछानेले भन्नुभएकाे छ, ‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन ।’
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १७:५९







