२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

नाबालकको बैंक खाता खोल्न राष्ट्र बैंकको आग्रह

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले नाबालक बालबालिकाको नाममा बैंक खाता खोल्न अभिभावकहरूलाई आग्रह गरेको छ । सानै उमेरदेखि बचतको बानी विकास गराउँदै वित्तीय चेतना बढाउने उद्देश्यले राष्ट्र बैंकले नाबालक लक्षित बैंक खाता खोल्न प्रोत्साहन गरेको हो ।

राष्ट्र बैंकका अनुसार जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा नाबालकको नाममा खाता खोल्न सकिन्छ । नाबालक बालिग नहुँदासम्म उक्त खाताको सञ्चालन अधिकार अभिभावक वा संरक्षकमा रहने व्यवस्था छ ।

नाबालक बालिग भएपछि बैंक वा वित्तीय संस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आधिकारिक हस्ताक्षर तथा विवरण अद्यावधिक गरेपछि खाताको सञ्चालन अधिकार नाबालक स्वयंमा हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ ।

नाबालकको बैंक खाता खोल्न उमेरको सीमा तोकिएको छैन । सानै उमेरदेखि बैंकिङ प्रणालीसँग परिचित गराउँदा बालबालिकामा बचत गर्ने बानी बस्ने, आर्थिक अनुशासन विकास हुने तथा भविष्यका लागि वित्तीय योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपाल राष्ट्र बैंकले नाबालकको बैंक खाता सुरक्षित बचत र उज्ज्वल भविष्यको पहिलो पाइला भएको उल्लेख गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकाको नाममा बैंक खाता खोल्न आग्रह गरेको छ । साथै, बैंक तथा वित्तीय सेवासम्बन्धी गुनासो भएमा राष्ट्र बैंकको अनलाइन गुनासो दर्ता पोर्टलमार्फत उजुरी गर्न सकिने व्यवस्था पनि रहेको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १०:२८