विद्युतीय कारोबार तीव्र, मोबाइल बैंकिङबाट ५५७ अर्बभन्दा बढी कारोबार
२० माघ, काठमाडौं । विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यस्ताे देखाएकाे हाे । २०८२ पुस महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबारमार्फत रु. ७८ अर्ब ७४ करोड बराबरको कारोबार गरेका छन् ।
यसै अवधिमा मोबाइल बैंकिङमार्फत हुने कारोबार अझै उच्च रहेको छ । मोबाइल बैंकिङअन्तर्गत ६ करोड ८३ लाख कारोबारमार्फत रु. ५५७ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ, जसले डिजिटल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्दो क्रममा रहेको देखाउँछ ।
त्यसैगरी, क्यु–आर कोड भुक्तानी प्रणालीको प्रयोग पनि तीव्र रूपमा विस्तार हुँदै गएको छ । २०८२ पुसमा क्यु–आर कोडमार्फत ४ करोड ७३ लाख कारोबार हुँदा रु. १२९ अर्ब १८ करोड बराबरको कारोबार भएको छ ।
विद्युतीय भुक्तानीका विभिन्न माध्यमहरूको बढ्दो प्रयोगले नगदरहित कारोबारतर्फ अर्थतन्त्र अघि बढिरहेको संकेत गरेको छ ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १०:०८







