झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने
१९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने जनाएकाे छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालले कुन दल वा उम्मेदवारलाई भोट दिनुहुन्छ ? भन्दै मतदाताको गोपनीयता भंग गरेको भन्दै त्यस्तो कार्य रोक्न भनेकाे हाे ।
‘फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको,’ विज्ञप्तिमा उल्लेख छ,’यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १७:१५







