१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

के एक लाखको स्वास्थ्य बीमा २५ हजारमा सीमित गरिएको हो ?

१९ माघ, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकका लागि बाहिरंग (OPD) सेवामा तोकेको उपचार सुविधाको सीमा तोकेको विषय बंग्याएर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । समाजिक सञ्जालमा बीमाको रकम नै एक लाखबाट घटाएर २५ हजारमा सीमित गरिएको भन्दै आलोचना भैरहेको छ । केही सञ्चार माध्यम र केही पत्रकारले नै गलत सूचना बाँडेपछि भुसको आगोजस्तै भ्रम फैलिएको छ ।

स्वास्थ्य बीमा गरेकाहरूले अनावश्यक उपचारमा सेवा लिन थालेपछि बोर्डले बाहिरंग सेवाको उपचार रकममा सीमा तोकेको हो । यो तोकेको सीमा फागुन १ गतेबाट लागू हुने बोर्डको सूचना अधिकारी विकेश मल्लले दैनिकीसँग जानकारी दिनुभयो ।

पत्रकारितामा क्रियाशिल रहनुभएको विराट अनुपम र किशोर श्रेष्ठले फेसबुकमा बोर्डको निर्णयका बारेमा दिएको गलत सूचना ।

बीमित नागरिकको सेवा उपयोगलाई थप सहज र प्रभावकारी बनाउने तथा बोर्डको वित्तीय भार कम गर्ने उद्देश्यले ओपीडी सेवामा नयाँ व्यवस्था लागू गरिएको हो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म स्वास्थ्य बीमा कार्यक्रम सफलतापूर्वक सञ्चालन तथा कार्यान्वयनमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति बोर्डले धन्यवाद व्यक्त गरेको छ ।

बोर्डको मिति २०८२/०९/२४ को बैठकको निर्णयअनुसार हाल लागू रहेको ओपीडी सेवा प्रयोजनका लागि एक परिवार (अधिकतम पाँच जना) लाई वार्षिक २५ हजार रुपैयाँ बराबरको सुविधा प्रदान गरिनेछ । साथै परिवारमा थप प्रत्येक एक सदस्यका लागि थप ५ हजार रुपैयाँ बराबरको सेवा सुविधा निर्धारण गरिएको छ ।

सञ्चार माध्यम र पत्रकारले भ्रम बाँडेपछि बोर्डले सार्वजनिक सूचना नै जारी गरेर पनि त्यसको खण्डन गरेको छ ।

निर्णय कार्यान्वयनका लागि स्वास्थ्य बीमा नियमावलीको अनुसूची–६ बमोजिम कडा तथा दीर्घरोगसम्बन्धी उपचारका विषयमा हाल व्यवस्था भएअनुसार नै सुविधा उपलब्ध हुने बोर्डले स्पष्ट पारेको छ । स्वास्थ्य बीमा बोर्डले सबै सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दै आवश्यक जानकारी प्रवाह गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १७:४३