नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न
१९ माघ, काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२६ सम्पन्न गरेको छ । सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२६ ’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै कार्यक्रमका कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल हुनुभएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयाे ।
उहाँले क्वालिफाई भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गर्नुभयाे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने उहाँले बताउनुभयाे ।
विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गर्नुभयाे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरु एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गर्नुभयाे ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताउनुभयाे । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गर्नुभयाे । पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै अभिकर्ताको अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताउनुभयाे ।
अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनुभयाे । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गर्नुभयाे ।
कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताउनुभयाे । आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पुर्याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गर्नुभयाे ।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गर्नुभयाे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताउनुभयाे । जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वासलाई कायम राखि राख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरु प्रतिबद्ध रहेको कुरा समेत उहाले बताउनुभयाे ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे र सम्पूर्ण क्वालिफाइड एमडीआरटीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभयाे । उहाँले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गर्नुका साथै र आगामी दिनमा पनि यसै किसिमको साथ सहयोग कम्पनी व्यवस्थापनबाट प्राप्त हुनेमा आफू आश्वस्त रहेको बताउनुभयाे ।
उपस्थित अभिकर्ताहरुको तर्फबाट बोल्दै मुक्तिनाथ काप्रीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा आज यो संख्यामा एमडीआरटी, सीओटी बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभयाे । यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंशा गर्नुभयाे र आगामी दिनमा थप परिस्कृत बनाउन व्यवस्थापनलाई सुझाब दिनुभयाे ।
३ दिन सम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्रि पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो । त्यस्तै कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि आफ्नो प्रस्तुति दिनु भएको थियो। कार्यक्रममा मोटीभेसनल स्पिकर सुगरिका केसीले उपस्थ्ति अभिकर्ताहरुलाई मोटीभेसन प्रदान गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ११:२५







