प्राविधिक समस्या समाधान भएसँगै सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिन मिल्ने
१८ माघ, काठमाडाैं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा देखिएको प्राविधिक समस्या समाधान भएको छ। आइतबार बिहान सेयरको अंकित मूल्यमा त्रुटि देखिएपछि रोकिएको आवेदन प्रक्रिया अहिले पुनः सुचारु भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ।
आइतबार बिहानदेखि सर्वसाधारणका लागि निष्कासन गरिएको यस आईपीओमा प्रतिकित्ता सेयरको मूल्य १०० रुपैयाँ हुनुपर्नेमा १० रुपैयाँ मात्र देखिएपछि मेरो सेयर एप र वेबसाइटबाट यसको विवरण हटाइएको थियो।
बिक्री प्रबन्धक कुमारी क्यापिटलले सी-आस्वा प्रणालीमा डाटा प्रविष्ट गर्दा भएको उक्त मानवीय त्रुटिलाई सफ्टवेयरमार्फत सच्याएपछि लगानीकर्ताका लागि पुनः आवेदन दिने बाटो खुलेको हो। सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्यको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरिएको छ।
प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १३:३६







