पूर्वी नेपालमा ‘कुमारी’मय माहौलः केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व
१८ माघ, दमक । माघ २३ गते प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरे लगत्तै चलचित्रको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो।
चलचित्रको प्रचार प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ। भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त साङ्गीतिक कार्यक्रममा करिब २ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले चलचित्रको सुपर हिट गीत ‘डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए। सो अवसरमा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बुले ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौ’ लगायत आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। चिसो मौसमका बाबजुद पनि दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए।
यसैबिच कलाकार अबिषेक खड्का शनिवार दिउँसो झापाको बिर्तामोडस्थित आफ्नो घर पुगेका छन्। अभिनेत्री आकृतिसहित आफ्नो गृह नगर पुगेका अविषेकलाई आफन्त र छिमेकीले भव्य स्वागत गरेका थिए। लामो समयपछि घर पुगेका उनले बुबालाई भेट्दा माहौल निकै भावुक बनेको थियो। डेब्यु चलचित्रबाटै अपार चर्चा बटुलिरहेका अविषेक र आकृति दुवै सो क्रममा भावुक देखिएका थिए।
यसअघि काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो। निर्देशक दिनेश राउतले ट्रेलरले पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए। उनले भने, “दर्शकको प्रतिक्रियाले हामीलाई सिनेमा घरसम्म पनि यस्तै साथ मिल्ने विश्वास दिलाएको छ।”
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रमा प्रेम, सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई चित्रण गरिएको छ। अविषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको यस चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै हिट भइसकेका छन्। ‘डोको बुन्ने’ गीतले युट्युबमा ८५ लाख भन्दा धेरै भ्युज पाइसकेको छ।
चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारको अभिनय छ। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘कुमारी’को पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। कार्यकारी निर्माता केदार भुसाल हुन्।
प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १२:४९







