१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

महोत्तरी-२ का उम्मेदवारसँग मतदाताको गुनासाः बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

१८ माघ, महोत्तरी । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन् ।

“हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भन्नुभयो । नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरुले दुःख पाइरहेको उहाँको भनाइ छ । विगतमा ठाउँठाउँमा कटान र डुबान रोक्न तटबन्ध निर्माण गरिए पनि त्यसले समस्या समाधान भएको छैन ।

यहाँका नागरिकहरुले चुनावमा भोट माग्न आउने उम्मेदवासमक्ष यस्तै गुनासा गर्न थालेका छन् । यस क्षेत्र भएर बग्ने रातु नदीको ताण्डवले जिल्लाका सात स्थानीय तहका बासिन्दा प्रभावित छन् । यसको दीर्घकालीन समाधान नपहिल्याइँदा समस्या जस्ताको त्यस्तै भएको बलवा–११ भगवतीपुरकी मरनी माझी मुसहरको भनाइ छ । “बर्खा लाग्यो कि घर बाढीले लाने हो कि भन्ने त्रास हुन्छ”, माझीले भन्नुभयो ।

निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताको आवतजावत बढेपछि चुनावी सरगर्मी बढेको छ । जिल्लाको पूर्वी मध्यभेगको यो क्षेत्रमा बिग्ही, रातु, मरहा र ओक्सीसहितका नदीपिडित समूहल मुख्य समस्या नै बर्खामा कटान र डुवान एवं हिउँदमा पानीको अभाव सुनाउँछन् ।

जिल्लाको मध्यभेगको भङ्गाहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिकाका–११, मध्यपूर्वी भेगको लोहारपट्टी नगरपालिकाका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा–६ र एकडारा गाउँपालिका–६ वडा महोत्तरी–२ मा पर्छन् । यहाँका बासिन्दाको मुख्य पेसा खेती भएर पनि सिँचाइको समुचित प्रबन्ध नहुँदा आकासे पानीको भरको खेती र बर्खामा बाढीले घरबस्ती डुबाउने÷बगाउने त्रासको नियति यहाँका बासिन्दाले खेप्दै आएका छन् ।

“हामी दुःखमा छौँ, खेतमा सिँचाइको प्रबन्ध छैन, बर्खामा बाढीले डुबाएर कहिल्यै राम्ररी अन्न थन्क्याउन पाएका छैनौ”, महोत्तरी गाउँपालिका–६ गोरीगमाका ४५ वर्षीय भोला महतो भन्नुहुन्छ, “चुनाव त भइ नै राखेका छन्, तर हाम्रो दुःख जहाँको त्यहीँ रह्यो ।”

यो क्षेत्र बर्खाकालमा बाढी कटान÷डुबान र हिउँदमा पानीको हाहाकारमा पर्ने गरेको छ । हिउँद अन्त्यतिर त सिँचाइका लागि मात्र नभएर कुनैकुनै वर्ष खानेपानीकै पनि हाहाकार पर्ने गरेको यहाँका बासिन्दा बताउँछन् । यो समस्या भोग्दै आएका यहाँका बासिन्दा सरकारले खेतीपातीका लागि सिँचाइ सुविधा, समयमा बीउबिजन, मलखाद र सुलभ कृषि ऋणको व्यवस्थासँगै बाढीबाट जोगाउन पक्की बाँध (तटबन्ध) को प्रबन्ध गरी देओस् भन्ने चाहना भएको लोहारपट्टी–१ का रामसागर यादवको भनाइ छ ।

आसन्न निर्वाचनका लागि यहाँ १५ राजनीतिक दलका र स्वतन्त्र २२ गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चुनाव प्रचारप्रसारका क्रममा यस क्षेत्रका बासिन्दाबाट यस्तै समस्या आउने गरेको नेकपा (संयुक्त) बाट उम्मेदवार इदरिस मोमिनको भनाइ छ । “योजनाबद्ध तरिकाले काम हुन नसक्दा जनताका गुनासा बढेका हुन्, अब हामी सबैको साझा सङ्कल्पले निदान पहिल्याइनु पर्दछ”, उहाँले भन्नुभयो ।

महोत्तरी–२ मा जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी, जनादेश पार्टी नेपाल, राष्ट्र निर्माण दल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र नेकपा संयुक्तका उम्मेदवार दलगत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यी दलका २२ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता छन् ।

साथै ६२ मतदानस्थलमा १३३ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचन अभियान अघि बढेसँगै यसलाई स्वच्छ र भयरहित सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १२:३९