१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।

सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता रहेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा राख्नुभयो । सरकारले सहिद दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १२:४७