१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड ३० लाख बराबरको आम्दानी भित्रियो

१४ माघ, लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० बराबरको आम्दानी भएको छ ।

यस वर्ष अलैँची प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्ममा बिक्री भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उहाँको भनाइ छ ।

गत वर्ष शून्य दशमवल चार प्रतिशतले उत्पादन भएको अलैँची यस वर्ष घटेर शून्य दशमलव ३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले उल्लेख गर्नुभयो । आव २०८१/८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्रीबाट रु २२ करोड आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजार ४०० सम्ममा अलैँची बिक्री भएको थियो ।

यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएका परियोजनाका कृषि अधिकृत मिजारले बताउनुभयो । आव २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिकटन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार उक्त वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार २०० का दरले अलैँची बिक्री गरेका थिए । आव २०७९/८० मा ३८० मेट्रिकटन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु ५५० देखि रु७०० सम्म बिक्री भएको थियो ।

आव २०७८/७९ मा ३३५ मेट्रिकटन अलैँची बिक्री गरी रु १५ करोड, आव २०७७/७८ मा तीन हजार ५०० क्विन्टलबाट रु १८ करोड २० लाख, आव २०७६/७७ मा दुई हजार क्विन्टल अलैँची बिक्रीबाट रु १२ करोड आम्दानी भएको परियोजनाले जनाएको छ ।

जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने भएकाले पकेट क्षेत्र घोषणा गरिएको हो ।

यस वर्ष सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको दाना बिक्रीबाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष अलैँची किसानले राम्रो आम्दानी प्राप्त गर्न सफल हुँदा किसान यस खेतीमा उत्साहित र खुसी भएका छन् ।”

जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँचीका बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ देखि अलैँचीखेती विस्तार हुँदै आएको हो ।

अलैँचीखेतीले जिल्लाका किसानको जीवनसमेत परिवर्तन गरेको छ । विदेशिएका युवासमेत फर्किएर अलैँचीखेती विस्तार गरेका छन् । सोमध्ये अजय तामाङ, सोमबहादुर तामाङ, बलराम लामालगायत विदेशबाट फर्किएर एक दशक अघिदेखि अलैँचीखेती गरिरहेका छन् । उहाँहरूको अहिले वार्षिक रु पाँच लाखदेखि रु १० लाखभन्दा बढी आम्दानी हुने सोमबहादुरले जानकारी दिनुभयो ।

अलैँचीखेतीले स्थानीयको आर्थिक अवस्था सुधार हुनुका साथै जीवनशैली परिवर्तन भएको छ । सोही कारणले जिल्लाका किसान पछिल्लो समय अलैँचीखेती विस्तार गर्नतर्फ आकर्षित हुँदै गएका परियोजना कार्यालयले जनाएको छ । जिल्लामा करिब तीन हजार किसान अलैँचीखेतीमा आबद्ध छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १४:५४