१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

ठगी गर्ने नुवाकोटका कृष्णजी थापासहित ३ जना पक्राउ

१४ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका-३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।

पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका-२ बाट र अनिललाई काठमाडौं महानगरपलिका-३१ बाट सोमबार तथा विवेकलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १३:०६