म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात
१४ माघ, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिनुभयो । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उहाँले बताउनुभयो ।
समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु, भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् ।
पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताउनुभयो । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।
यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताउनुभयो ।
सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उहाँले बताउनुभयो । गहुु, जौ, केराउ, सुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १२:०२







