१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

एभरेष्ट बैंकको नाफा २ अर्ब माथि, वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड

१४ माघ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा खुद शुल्क तथा कमिशन आम्दानी पनि ७६ करोड ५० लाख रुपैयाँबाट वृद्धि भएर ९२ करोड ९ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ।

बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत रहेकाे छ । १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ।  समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ०९:३४