वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
१३ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका- ९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-६ घर भएका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने चितवन राप्ती नगरपालिका- ३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन् ।
पक्राउ मध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३ बाट, मनिषालाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ बाट र भक्त प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा सरललाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १३:१३







