हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
१३ माघ, जुम्ला । शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ ।
भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिनुभयो ।
हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १२:५०







