सिन्धु विकास बैंक नोक्सानीमा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक
१३ माघ, काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंक १ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने ३.७१ प्रतिशतले बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५५ लाख ९४ हजार रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर ८६ लाख ७० हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन खर्च ८ करोड १४ लाख रुपैयाँबाट बढेर ८ करोड ३६ लाख पुगेको छ ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९.०६ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.३९ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १०:०८







