सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
११ माघ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन मुनाफा ४५ करोड १३ लाख र खुद सञ्चालन आम्दानी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ। बैंकको खराब कर्जा अनुपात अनुपात ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ । ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १०:१३






