१० माघ २०८२, शनिबार | Sat Jan 24 2026

सेयर बजारका लगानीकर्ता ठग्ने दीपेन्द्र एमालेमा, ओलीले गरे स्वागत

१० माघ, काठमाडाैँ । फर्जी सेयर कारोबारमार्फत सर्वसाधारणको अर्बौं रुपैयाँ डुबाएको आरोप लागेका चर्चित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएको अग्रवालसहितको समूहलाई स्वागत गर्न एमालेले केन्द्रीय कार्यालय च्यासलमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।

सेयर बजारमा कृत्रिम मूल्य वृद्धि, झुटो कारोबार तथा मूल्य प्रभावित गराएको कसुरमा नाम जोडिएका अग्रवाल हाल पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको दायरामा रहनुभएको छ । यसअघि काठमाडौं प्रहरी परिसरले उहाँलाई गत ५ साउन टोखाबाट पक्राउ गरेको थियो । करिब १० दिन हिरासतमा राखी अनुसन्धान गरेपछि आवश्यक परेमा तत्काल उपस्थित हुने सर्तसहित १४ साउन २०८२ मा हाजिरी जमानतमा रिहा गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको अध्ययनअनुसार अग्रवालले संगठित रूपमा सेयर बजारमा चलखेल गर्दै सर्वसाधारण लगानीकर्तालाई अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको देखिएको छ । बोर्डको अनुसन्धानले एक दर्जनभन्दा बढी व्यक्तिहरूको नाम प्रयोग गरी आपसमा सेयर किनबेच गर्ने, कृत्रिम रूपमा मूल्य बढाउने र बढेको मूल्यमा सेयर बिक्री गरी सर्वसाधारणलाई झुक्यानमा पार्ने गतिविधिमा उहाँ संलग्न रहेको निष्कर्ष निकालेको छ ।

बोर्डका अनुसार अग्रवालले आफन्त तथा नजिकका व्यक्तिहरूको नाम प्रयोग गरी सेयर खरिद–बिक्री गरे पनि वास्तविक स्वामित्व भने उहाँकै रहने गरेको पाइएको छ । अनुसन्धानमा उहाँले आफ्नै नामसहित सविता अग्रवाल, ज्योति अग्रवाल, जयप्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, आहान मुरारका अग्रवाल, रामसिंह साउद, मनकुमारी गुरुङ, विरेन्द्रबहादुर साउद र सीमाकुमारी अग्रवालको नामबाट सेयर कारोबार गरेको खुलेको छ । साथै ‘एस मल्टिप्रपोज कम्पनी’ र ‘गोल्डम्यान इन्भेष्टमेन्ट’ को नाम प्रयोग गरी पनि सेयर किनबेच गरिएको देखिएको छ ।

बोर्डको अध्ययनअनुसार अग्रवालले सामाजिक सञ्जालमार्फत गोर्खाज फाइनान्सको सेयर खरिद गर्न लगानीकर्तालाई उक्साउँदै आफैं भने सोही सेयर बिक्री गर्नुभएको थियो । नेपाल स्टक एक्सचेन्जको तथ्याङ्कअनुसार उहाँले सन् २०२१ डिसेम्बर २८ मा गोर्खाज फाइनान्सको सेयर किन्न आह्वान गर्नुभएको थियो । सो दिन प्रतिकित्ता मूल्य ७८९ रुपैयाँ रहेको थियो । त्यसको करिब पाँच दिनपछि उहाँले सोही कम्पनीका १४ हजार ६ सय ४२ कित्ता सेयर प्रतिकित्ता ८ सय रुपैयाँसम्ममा बिक्री गरेको बोर्डले जनाएको छ ।

त्यसैगरी, जोशी हाइड्रोपावर कम्पनीको सेयरमा प्रतिकित्ता ६७ रुपैयाँ नाफा गर्दै ७३ हजार ३ सय ७ कित्ता सेयर बिक्री गरी करिब ४९ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरिएको बोर्डको अनुसन्धानमा उल्लेख छ । शतप्रतिशत हकप्रद सेयर आउने भनी हल्ला फैलाएर मूल्य बढाइएको विवरण पनि प्रतिवेदनमा समावेश छ । पोखरा फाइनान्सको सेयरमा समेत अनावश्यक हल्ला फैलाएर मूल्य वृद्धि गरी बिक्री गरिएको निष्कर्ष निकालिएको छ ।

dainiki.com

बोर्डको अध्ययनले अग्रवालले अन्तिम मिनेटमा झुटा कारोबार (फर्जी ट्रेड) गरी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँले बढाउने प्रयास गरेको देखाएको छ । १५ जनाको ट्रेड म्यानेजमेन्ट सिस्टम प्रयोग गरी वास्तविक स्वामित्व नबदली कारोबार देखाइएको पुष्टि भएपछि झुटा कारोबारको कसुरमा कारबाही सिफारिस गरिएको छ ।

धितोपत्र बोर्डले अग्रवालमाथि धितोपत्र ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गराएको कसुर गरेको ठहर गर्दै अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश गर्न सिफारिस गरेको जनाएको छ । बोर्ड स्रोतका अनुसार नेपाल फाइनान्सलगायत अन्य कम्पनीहरूको सेयर मूल्य कृत्रिम रूपमा बढाई सर्वसाधारणलाई झुक्यानमा पारेर ठगी गरिएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ । यति गम्भीर आरोप र अनुसन्धानकै बीच अग्रवालको एमाले प्रवेशले राजनीतिक वृत्तमा प्रश्न र आलोचना उत्पन्न भएको छ ।

यसैबीच, सेयर बजारमा झुटो कारोबार गरी मूल्य प्रभावित गरेको अभियोगमा पक्राउ परेका अग्रवालले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको मिति नखुलेको चेक ‘कोल्याटरल’ (जमानत/सुरक्षा) का रूपमा प्रयोग गरेको तथ्य सार्वजनिक भएको छ ।

नेपाल धितोपत्र बोर्डले तयार पारेको ‘दीपेन्द्र अग्रवालले धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’ अनुसार उहाँले पटक–पटक गरी मिति तथा चेक नम्बर स्पष्ट नभएका चेकहरू ब्रोकर कम्पनीलाई बुझाउनुभएको थियो । ती चेकका आधारमा उहाँलाई अत्यधिक कारोबार सीमा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानअनुसार अग्रवालले १५ जना विभिन्न व्यक्तिको नाम प्रयोग गरी आफैं सेयर कारोबार सञ्चालन गर्दै आउनुभएको थियो । सोही क्रममा उहाँले आफ्नी दिदी ज्योति अग्रवालको नाम प्रयोग गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबरको मिति नखुलेको चेक ‘कोल्याटरल’ का रूपमा प्रदान गर्नुभएको भेटिएको छ ।

बोर्डको अध्ययन समितिले ज्योति अग्रवालको नामबाट सेयर कारोबार गराउने क्रममा धितोपत्र दलाल व्यवसायी हातेमालो फाइनान्सियल सर्भिसेस प्रालिले कसरी कारोबार सीमा निर्धारण गर्‍यो भन्ने विषयमा पनि अनुसन्धान गरेको थियो ।

प्रतिवेदनअनुसार, सन् २०२५ मार्च ११ मा हातेमालो फाइनान्सियल सर्भिसेस प्रालिले ज्योति अग्रवाललाई कारोबार सीमा उपलब्ध गराउँदा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम आवश्यक पर्ने अग्रिम रकमको प्रमाण माग गरिएको थियो । सो क्रममा ज्योति अग्रवालले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको मिति नखुलेको चेक प्रस्तुत गर्नुभएको थियो ।

अनुसन्धानमा खुल्न आएको विवरणअनुसार अग्रवालले ग्लोबल आईएमई बैंक लिमिटेडको खाता नम्बर ०१५०७०१०००३६१७ बाट जारी गरिएका चेक नम्बर ००८०४३७६२९, ००८०४३७६२८ र ००८०४३७६२६ मार्फत ८०/८० करोड रुपैयाँका तीनवटा मिति नखुलेका चेक तथा चेक नम्बर ००८०४३७६२७ बाट ३० करोड रुपैयाँको मिति नखुलेको चेक प्रदान गर्नुभएको थियो । साथै सोही खाताबाट चेक नम्बर स्पष्ट नखुलेको अर्को एक चेकमार्फत थप ८० करोड रुपैयाँ प्रदान गरिएको तथ्य पनि प्रतिवेदनमा समेटिएको छ ।

यसरी कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरका मिति नखुलेका चेकहरूलाई मात्र आधार मानेर हातेमालो फाइनान्सियल सर्भिसेस प्रालिले ज्योति अग्रवाललाई कारोबार सीमा उपलब्ध गराएको बोर्डको निष्कर्ष छ ।

प्रतिवेदनमा भनिएको छ, “धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम लिनुपर्ने अग्रिम रकम नलिई केवल मिति उल्लेख नभएका चेकका आधारमा कारोबार सीमा प्रदान गरिएको देखिन्छ, जसले झुटो कारोबार र बजार हेरफेरको वातावरण सिर्जना गरेको पुष्टि हुन्छ ।”

बोर्डको निष्कर्षअनुसार यस्तो संरचनाले सेयर बजारमा कृत्रिम कारोबार, मूल्य हेरफेर तथा संगठित वित्तीय चलखेललाई संस्थागत रूपमै सहज बनाएको देखिन्छ । यसले बजारको पारदर्शिता, विश्वास र लगानीकर्ता सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बोर्डको ठहर छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार १९:५२