रेशम चौधरीको उम्मेदवारी रद्द
८ माघ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।
विहिबार निर्वाचन अधिकृतको कार्यालयले चौधरीविरुद्धको उजुरीमा छानबिन गर्दै उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।
निर्वाचन अधिकृत देवराज भारतीले गरेको निर्णय आदेशमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी भएको देखिएता पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने समेतको मौजुदा कानूनी व्यवस्था रहेको र निर्वाचन आयोगको मिति २०८०।११।२४ गतेको निर्णयबाट निज रेशमलाल चौधरी राजनीतिक दलको सदस्य समेत बन्न अयोग्य हुने उल्लेख छ ।
चौधरीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते चौधरीलाई दाेषी ठहर गरेको थियो ।
यस्तै, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालबिक्रम थापाविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ ।
निर्वाचन आयोगमा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहनुभएकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी न खारेज भएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको थियो । नेपालविरुद्धको उजुरी पनि खारेज भएको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएकाे छ ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १८:२०






