६ महिनामा २० अर्ब ३८ करोडको धान चामल आयात
८ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले २० अर्ब बढीकाे धानचामल आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धान चामल आयात गरेको हो ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष धान र चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा धेरै वृद्धि देखिएको विभागले जनाएकाे छ ।
गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब ९ करोड ९६ लाख बराबरको धान र चामल आयात गरेको थियो । सोही अवधिको तुलनामा धानचामल आयात मूल्य करिब ६.७३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल आयात भएको छ । गत वर्षकाे सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखको मात्र आयात भएको थियो ।
त्यसैगरी ,गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको अर्ध–पालिस वा पूर्ण पालिस गरिएका चामल भित्रिएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ ।
प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा सिमित भएकाे छ । याे अवधिमा बिउका लागि प्रयोग हुने धान आयात बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष ६० किलो बिउका लागि जम्मा ४ हजार रुपैयाँ मात्र बाहिरिएको थियो ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १५:०५






