ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो अडान परिवर्तन गरेपछि युरोपमा राहत
८ माघ, स्विट्जरल्यान्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन् । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा सहभागी युरोपेली नेताहरूले एक दिनअघि मात्रै आठ युरोपेली राष्ट्रमा शुल्क लगाउने धम्की दिएका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् ।
राष्ट्रपति ट्रम्पले अब ग्रिनल्यान्ड कब्जा गर्न बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाबारे नाटोसँगको सहकार्यमा नयाँ ढाँचा तयार गर्ने बताउनुभएको छ । तर यो नयाँ ग्रिनल्यान्डसम्बन्धी समझदारीले वास्तवमा के जनाउँछ भन्ने विषयमा अझै धेरै प्रश्नहरू अनुत्तरित नै रहेका छन् ।
यसैबीच, डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले आफ्नो देशको सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता सम्भव नभएको स्पष्ट पार्नुभएको छ । अमेरिकी पक्षले ग्रिनल्यान्डमाथि बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाका लागि नाटोसँग सहकार्य गर्ने बताएको सन्दर्भमा उहाँलाई ‘यस्तो कुनै प्रस्ताव नरहेको’ जानकारी दिइएको उहाँको भनाइ छ । एक वक्तव्यमा उहाँले आर्कटिक क्षेत्रको सुरक्षा सम्पूर्ण नाटोको साझा विषय भएको र यसबारे अमेरिकी राष्ट्रपति र नाटो महासचिव मार्क रुटबीच छलफल हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले डाभोसमा राष्ट्रपति ट्रम्पसँग भेटघाट हुनु अघि र पछि समेत महासचिव रुटसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
डाभोसकै कार्यक्रममा अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति ट्रम्पले युक्रेनका लागि ‘ट्यारिफ–फ्री जोन’ जस्तो अवधारणा विचार गरिरहेको खुलासा गर्नुभयो । उहाँका अनुसार यसले युद्धग्रस्त युक्रेनमा उद्योग र अर्थतन्त्रको पुनर्निर्माणमा ठूलो सहयोग पुर्याउन सक्छ । “राष्ट्रपतिले युक्रेनका लागि शुल्कमुक्त क्षेत्रको कुरा गर्नुभएको छ, जुन मेरो विचारमा खेल परिवर्तन गर्ने खालको हुनेछ”, विटकफले युक्रेन ब्रेकफास्ट नामक साइडलाइन कार्यक्रममा भन्नुभयो ।
रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि पहल गरिरहेको अमेरिकी प्रशासनको तर्फबाट विटकफले मस्को जानुअघि यी टिप्पणीहरू गर्नुभएको हो । उहाँले अबुधाबी क्षेत्रतर्फ पनि भ्रमण गर्ने योजना रहेको बताउँदै त्यहाँ सैन्य–देखि–सैन्य संवाद र समृद्धिसम्बन्धी विषयमा कार्य समूहस्तरका छलफल हुने जानकारी दिनुभयो ।
यता, डाभोसमा उपस्थित युरोपेली प्रतिनिधिहरूले ट्रम्पको पछिल्लो अभिव्यक्तिले तत्कालका लागि तनाव कम गरेको प्रतिक्रिया दिएका छन् । विश्व आर्थिक फोरमको एक कार्यक्रममा युक्रेन युद्ध र आर्कटिक सुरक्षाबारे नाटो महासचिव रुटसँग छलफल हुने कार्यक्रमलाई समेत महत्त्वका साथ हेरिएको थियो । ट्रम्पको ग्रिनल्यान्डसम्बन्धी अडान फेरिएसँगै युरोपमा तत्कालको सङ्कट टरेको अनुभूति भए पनि यसको दीर्घकालीन प्रभावबारे अझै स्पष्टता आउन बाँकी रहेको विश्लेषकहरूको भनाइ छ ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १३:३२






