आईभीएफ उपचारमा ब्लुक्रस अस्पतालको ठगी, न प्रशासन बोल्छ न त चिकित्सक नै
७ माघ, काठमाडाैँ । हामी बिरामी भएर उपचारका लागि अस्पताल जान्छौँ । अस्पताल पुग्दा हाम्रो विश्वास अब उपचार पाइन्छ र स्वस्थ भएर फर्किन पाइन्छ भन्ने हुन्छ तर सबै अस्पताल र चिकित्सकले त्यसो नगर्ने रहेछन । कतिपय अस्पताल र चिकित्सकले हाम्रो बिरामीपनामा व्यापार गर्ने र ठग्ने समेत काम गर्ने रहेछन । हो यस्तै भएको छ काठमाडौँको त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा ।
अस्पतालमा आईभीएफ उपचारको नाममा बिरामी ठगिएको एउटा गम्भीर घटना सार्वजनिक भएको छ । अस्पतालमा डा. रङ्गिना लाइकाङबामको नेतृत्वमा रहेको टिमले उपचारका क्रममा मनपरी शुल्क असुली गरेर ठगी गरेको पाइएको छ । मकवानपुरको साविक नामटारको ४१ वर्षीया निर्मला ओली बर्तौलाले शल्यक्रियाका क्रममा दोब्बरभन्दा बढी रकम तिर्नुपरेको छ । शल्यक्रिया गर्नुअघि भनिएको भन्दा दोब्बर रकम उहाँसँग असुल गरिएको उहाँको भाइ महेन्द्रराज ओलीले बताउनुभएको छ ।

आईभीएफ उपचारका लागि काठमाडौंको ब्लुक्रस अस्पताल पुग्नुभएको महेन्द्रराज ओलीले अस्पतालले सुरूमा शल्यक्रियाको मूल्य ८० हजार रूपैयाँ तोकेको त्यसैमा हस्ताक्षर समेत गराएको तर शल्यक्रियाको ७२ घण्टापछि १ लाख ४० हजार रूपैयाँ असुल गरिएको जानकारी दिनुभयो । पीडितका अनुसार, शल्यक्रियाअघि बताइएको शुल्क र पछि असुलिएको रकमबीच ठूलो अन्तर रहे पनि त्यसबारे स्पष्ट जवाफ चिकित्स र अस्पताल प्रशासनले दिएको छैन ।
पीडितका भाइ महेन्द्रराजका अनुसार, अस्पतालमा बिरामीलाई चिकित्सकसँग भेट्न समेत दिइँदैन । उपचारसम्बन्धी सम्पूर्ण कुराकानी आशा श्रेष्ठ नामको कर्मचारीमार्फत गराइन्छ । तर ठगी भएकोबारे प्रश्न गर्दा डा. रङ्गिना “व्यस्त रहेको” जानकारी मात्रै दिने र आशा श्रेष्ठले “यो मेरो ड्युटी होइन, डाक्टरसँग कुरा गर्नु” भन्ने जवाफ दिने गरेको ओलीको भनाइ छ ।
उपचारका क्रममा प्रयोग गरिने औषधिमा समेत अत्यधिक मूल्य लिइएको पीडित पक्षको दाबी छ । २० मिलीग्रामको डेपिन औषधिमा भारतीय बजार मूल्य ६२ रूपैयाँ मात्रै लेखिएको भए पनि अस्पतालले सोही औषधिका लागि नेपाली ९ सय रूपैयाँ लिएको लिने गरेको छ । अस्पतालले उक्त औषधिको बिलसमेत दिँदैन । र अस्पतालले औषधिको भुक्तानी नगदमात्र लिने गरेको छ । अस्पतालका कर्मचारीले उक्त औषधि डा. रङ्गिनाको सिफारिसमा मात्र चल्ने भएकाले बिल दिन निमल्ने बताउँछन । पीडित परिवारका अनुसार, अस्पतालबाट ठगी भएको प्रमाणसहित प्रहरीसहित सरोकारवाल निकायमा उजुरी पनि दिने बताएका छन ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हुने यस्ता गतिबिधिले स्वास्थ्यसेवाको विश्वसनीयतामा मात्र प्रश्न उठाएको छैन । पारदर्शी सेवा पाउने सेवाग्राहीको अधिकार कुण्ठित गरेको छ । यस विषयमा ब्लुक्रस अस्पताल र डा. रङ्गिना लाइकाङबामसँग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुनसकेन । हामीले अस्पतालको नम्बर ०१ ५३१९२२७ नम्बरमा सम्पर्क गर्दा एक महिला र एक पुरूषले पालैसँग घटनाविवरण सुनेपछि व्यवस्थापनसँग सम्पर्क गरेर जवाफ दिने जानकारी दिनुभएको छ ।
हामी ठगीमा पर्नुभएको महेन्द्रराजको जस्तै ठग्ने अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया पनि दिनेछौँ । हामी यस विषयमा हामी थप जानकारीसहित निरन्तर फलोअप गर्ने नै छौँ । तपाई पनि ब्लुक्रस अस्पतालको तर्फबाट ठगिनुभएको छ भने हामी तपाईको न्यायका लागि खबरदारी गर्नेछौँ । हामीलाई ०१४१०२६१७ वा हटलाइन नम्बर ९८१०३१०११५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १७:२३






