पूर्व स्वास्थ्य सचिव मिश्राको १४ करोडको भ्रष्टाचार मुद्दा, विशेषले माग्यो पाँच लाख धराैटी
७ माघ, काठमाडौँ । विशेष अदालतले पूर्व स्वास्थ्य सचिव डा संगीता कौशल मिश्रासँग पाँच लाख रूपैयाँ धरौटी माग गरेको छ । बुधबार मिश्रासहितको मुद्दाको सुनुवाइ गर्दै विशेषले पाँच लाख धरौटी माग गरेको हो ।
विशेषका न्यायाधीशहरू नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलाशले संगीतासँगमात्र पाँच लाख रूपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कात्तिक २ गते मिश्रसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

मिश्रासहित माथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक मिश्रा, निर्देशक डा। श्रवण कुमार थापा, बरिष्ठ स्वास्थ्य प्रशासक डा। सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा विवेक कुमाल लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादव प्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानून अधिकृत सीता घिमिरे, बायोमेडिकल इञ्जिनियर आशिष चौहान र पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक सञ्जय कुमार साह र लेखापाल तिलकराम ढकालविरुद्ध मुद्दा दायर भएको थियो ।
अख्तियारले १४ करोड ६ लाख ८५ हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको हो । यसैगरी ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा लिका र त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको छ । मिश्रामाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याट समेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको थियो ।



प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १६:५८






