उम्मेदवारी फिर्ता लिने गरी धादिङ २ मा एमालेबाट चन्द्रको नाममा टिकट
६ माघ, धादिङ । नेकपा एमालेले धादिङको क्षेत्र नम्बर २ मा उम्मेदवारी फिर्ता लिनुपर्ने शर्तमा पर्यटन व्यवसायी चन्द्र रिजालको नाममा टिकट दिएको छ । यसअघि पार्टीको सचिवालय बैठकले धनबहादुर घलेको नाममा टिकट दिने निर्णय गरेको थियो ।
२०७९ को चुनावमा राप्रपासँग तालमेल भएपछि एमालेका घलेले उम्मेदवारी फिर्ता लिन नमानेपछि सिधै केपी शर्मा ओलीको पत्रको आधारमा उम्मेदवारी झिकिएको थियो । यो पटक पनि यस्तै परिस्थिति आउने भएपछि घलेको नाममा निर्णय भएको टिकट चन्द्र रिजालको नाममा बनाइएको छ ।

एमाले स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि राप्रपासँग तालमेल गर्नु अनिवार्य भएकाले धादिङ २ को एमालेको टिकट फिर्ता गर्ने सूचीमा राखेर उम्मेदवार तय गरिएको हो । राप्रपाका नेता बुद्धिमान तामाङ उम्मेदवार हुँदैहुनुहुन्छ । देशभर कम्तिमा चार स्थानमा राप्रपासँग एमालेको तालमेल गर्ने गरी सहमति भएको सूचना एमाले धादिङमा आइपुगेको छ ।
रिजालले टिकट पाएको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन । यता रिजाल भने सम्पर्कबिहीन हुनुभएको छ । उहाँले कसैको पनि फोन उठाउनुभएको छैन । रिजालले यसअघि ओलीकै लागि विशेष प्रदेश कमिटीको अध्यक्षमा हालेको उम्मेदवारी समेत फिर्ता लिनुभएको थियो । टानको पूर्व अध्यक्ष रिजाल नेतृत्वको ढाल बन्दै आउनुभएको छ । राप्रपासँग भएको सहमति कार्यान्वयन नहुने अवस्थामा भने रिजालको उम्मेदवारीले प्रतिस्पर्धा गर्न पाउनेछ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०९:१२









