पत्रकार ऋषि धमलाले रौतहट ४ बाट उम्मेदवारी दिने
६ माघ, काठमाडाैँ । पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनेहुनुभएको छ । श्रीमति उपाध्यक्ष भएको आम जनता पार्टीले टिकट दिएपछि धमला चुनाव लड्न तयार हुनुभएको हो ।
पार्टी उपाध्यक्ष गाैतमले ऋषिले राैतहट ४ बाट उम्मेदवारी दिने जानकारी दिनुभएको छ । ऋषिले टिकट पाएपछि टेलिभिजन कार्यक्रम पत्रकार ऋषि थपलियाको जिम्म लगाएर हिँड्नुभएको छ ।
उम्मेदवारी दर्ताका लागि घरमा टीका र माला लगाएर छोरीको खुट्टा ढोगेर धमला राैतहट लाग्नुभएको छ । धमलाको विदाइको तस्बिर राख्दै एलिजाले फेसबुकमा गरेको टिप्पणी यस्तो छ,
आज मनमा गर्व पनि छ र अलि भारीपन पनि । वर्षौँसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो ।

पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौँ र निकै सोचविचार गर्यौँ। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो।
यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०८:१७









