५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

कामना सेवा विकास बैंकको नाफा ३९ करोड ४५ लाख, अन्य अवस्था कस्ताे ?

५ पुस, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा सुधारको संकेत दिएको छ। साउनदेखि पुस मसान्तसम्मको अपरिस्कृत विवरण प्रकाशन गर्ने पहिलो बैंक बनेको कामना सेवाले नाफा, आम्दानी, निक्षेप तथा कर्जा विस्तार सबै सूचकमा सन्तुलित वृद्धि देखाएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रकाशित विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशत र सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। बैंकको वितरणयोग्य मुनाफा २१.२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने साे अवधिमा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज पनि १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा बढेर २० रुपैयाँ ४३ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समग्रमा हेर्दा, कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सन्तुलित नाफा वृद्धि, स्थिर आम्दानी, पुँजी पर्याप्तता र विस्तारमुखी कर्जा नीतिको संकेत दिएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०९:३७