४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

सेनाको फोटो तथा बृहत् प्रदर्शनी आजदेखि, माघ ७ गतेसम्म सञ्चालन हुने

४ माघ, काठमाडौँ । आमनागरिकलाई नेपाली सेनाको योगदान र विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आजदेखि ‘फोटो तथा बृहत् प्रदर्शनी’ आयोजना गरिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले उक्त प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दल लगायतका गतिविधि समेटिएका  ३१ कक्ष राखिएका छन् ।

सेना दिवस–२०८२ का अवसरमा सैनिक मुख्यालय परिसरमा आयोजित यही माघ ७ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनी दैनिक बिहान १० देखि बेलुका ५ बजेसम्म हुने छ । प्रदर्शनीमा आम नागरिकलाई जङ्गी अड्डाको पश्चिम गेटबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रदर्शनी उद्घाटनका अवसरमा नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीन  गैरसैनिक फोटोग्राफर, तीन सेनाका युनिट र एक जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । पछिल्ला वर्षमा सेनाले हरेक वर्ष यस किसिमको प्रदर्शनी गर्दै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:५३