४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

दैलेख २ मा कार्यकर्ताको मतमा पहिलो भएका विष्णु रिजाल केपी ओलीको मूल्यांकनमा फेल

४ माघ, काठमाडौँ । नेकपा एमालेले दैलेख २ को कमिटीले मतदान नै गरेर गरेको सिफारिसमा ‘कु’ गरेको छ । आकांक्षीहरू चार जना भएपछि मतदान नै गरेर मतभारको आधारमा क्षेत्रीय कमिटीले सिफारिस गरेको भए पनि एमालेले त्यसलाई उल्ट्याएको छ । दैलेख २ मा कार्यकर्ताको मतमा पहिलो भएका विष्णु रिजाल केपी ओलीको मूल्यांकनमा भने फेल भएका छन ।

एमालेले दैलेख २ मा यसअघि चुनाव लडेका लक्ष्मी पोखरेललाई नै उम्मेदवार बनाएको छ । क्षेत्रीय कमिटीले मतदान गरेर सिफारिस गर्दा विष्णु रिजाल ६७, लक्ष्मी पोखरेल ६६, राजबहादुर शाही ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गर्नुभएको थियो ।

रिजाल यसअघि पनि चुनाव लड्न तयार हुनुहुन्थ्यो तर केपी ओलीले टिकट नपत्याउँदा रहर पूरा हुन सकेको थिएन । यो पटक मतदानबाटै एक नम्बरमा नाम ल्याउँदा पनि उहाँले अवसर प्राप्त गर्नुभएन ।

रिजालले टिकट नपाएपछि कतिपयले कर्णालीको मुख्यमन्त्री बनाउन वा ओली प्रधानमन्त्री भएपछि सल्लाहकारको भूमिका निभाउन जगेडामा राखेको अनुमान गरेका छन । तर ओलीले कुनै समय आफ्नो कटु आलोचना गरेकै कारण रिजाललाई टिकट नदिएको बुझ्नेहरू पनि रहेका छन ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार ०७:५०