१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

उम्मेदवार छनौटपछि योगेश भट्टराईको आग्रहः पार्टीका निर्णयप्रति विचलित नहुनुस्

३ माघ, काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीका निर्णयप्रति विचलित नहुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले अझ उच्च मनोबल र एकताका साथ पार्टीका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थान र हैसियतबाट सक्रिय रहन आग्रह गर्नुभएको हो ।

भट्टराईले लेखेको स्टाटसमा भनिएको छ, “नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अधिकांश जिल्लाबाट उम्मेदवार टुंगो लगाइसकेको छ। तर ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार अध्यक्ष केपी शर्मा ओलीले टुंगो लगाउने भनेर छाडिएपछि भट्टराईको उक्त स्टाटस सार्वजनिक भएको हो।

प्रकाशित मिति : January 17, 2026 at 11:38 pm